लोक सेवाको पहुँच विस्तार : युवामै केन्द्रित नयाँ रणनीति



काठमाडौँ, असार १ । लोक सेवा आयोगले आफ्नो ७६औँ वार्षिकोत्सवका अवसरमा सार्वजनिक प्रशासनमा पदपूर्ति प्रक्रियालाई थप स्वच्छ, निष्पक्ष र पहुँचयोग्य बनाउने अभियानलाई तीव्र बनाएको जनाएको छ।

आयोगले चालु आर्थिक वर्षमा छ वटा प्रदेशका सबै जिल्लाका युवाको सहभागिता सुनिश्चित गर्ने गरी पहुँच अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ। परीक्षा प्रणाली सुधार, पाठ्यक्रम परिमार्जन, प्रविधिको प्रयोग तथा उत्तरपुस्तिका परीक्षणमा दोहोरो कोडिङ प्रणाली अपनाएर निष्पक्षता र विश्वसनीयता थप मजबुत बनाइएको आयोगको भनाइ छ।

यसै वर्षदेखि चौथो तहका लागि एकीकृत पूर्वयोग्यता परीक्षा लागू गरिएको छ। ९० हजार आवेदकमध्ये ६६ हजार परीक्षामा सहभागी हुँदा करिब ३० प्रतिशत उत्तीर्ण भएका छन्। आयोगले आगामी दिनमा पाँचौँ र छैटौँ तहमा पनि यो व्यवस्था विस्तार गर्ने तयारी गरेको जनाएको छ।

पछिल्लो १० वर्षमा समावेशी प्रतिस्पर्धाबाट करिब २६ हजार पदपूर्ति भएको आयोगले जनाएको छ। वार्षिकोत्सवका अवसरमा स्मारिका प्रकाशन तथा वृक्षरोपण कार्यक्रमसमेत आयोजना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्