दुई दशक बित्दा पनि ट्रान्स–एसियन रेल सञ्जालमा नेपालको यात्रा सुस्त



काठमाडौँ, असार १ । एसिया र युरोपलाई रेलमार्फत जोड्ने महत्वाकांक्षी ट्रान्स–एसियन रेलवे (टिएआर) नेटवर्कमा नेपाल आबद्ध भएको झण्डै दुई दशक पुग्न लाग्दा पनि उल्लेखनीय प्रगति हुन सकेको छैन। सन् २००६ मा सदस्यता प्राप्त गरेको नेपालले मेची–महाकाली रेलमार्गलाई ‘मिसिङ लिङ्क’का रूपमा अघि बढाए पनि १७ वर्षमा सीमित खण्डमा मात्रै भौतिक निर्माण भएको छ।

९२५ किलोमिटर लामो मेची–महाकाली रेलमार्गमध्ये हालसम्म ९३.६ किलोमिटर क्षेत्रमा मात्र काम सुरु भएको छ। बजेट अभाव, कूटनीतिक ढिलासुस्ती र प्राविधिक जनशक्तिको कमीका कारण परियोजना अपेक्षित गतिमा अघि बढ्न नसकेको रेल विभागले जनाएको छ।

ट्रान्स–एसियन रेल सञ्जालले एसिया र युरोपबीच व्यापार तथा यातायातलाई सहज बनाउने लक्ष्य राखेको छ। नेपाल यस सञ्जालमा जोडिन सके तेस्रो मुलुकसँगको व्यापार र पारवहनमा महत्वपूर्ण सहजता आउने अपेक्षा गरिएको छ।

हालसम्म मेची–महाकाली रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ भने विभिन्न खण्डमा वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि अगाडि बढेको छ। बर्दीबास–चोँचा खण्डमा ६८ किलोमिटर रेल ट्र्याक निर्माण सम्पन्न भए पनि जग्गा मुआब्जा विवादका कारण थप काम प्रभावित बनेको छ।

प्रतिक्रिया दिनुहोस्