दुई पटक पछि परेको जापानको शानदार पुनरागमन, नेदरल्याण्ड्ससँग २–२ को बराबरी



डलास,असार १ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को पहिलो खेलमा जापानले दुई पटक पछि परेको अवस्था उल्टाउँदै नेदरल्याण्ड्ससँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ।

डलासमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा चार गोल भएका थिए। नेदरल्याण्ड्सका कप्तान भर्जिल भान डाइकले ५१औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको छ मिनेटपछि ताकेफुसा कुबोको पासमा केइतो नाकामुराले गोल गर्दै जापानलाई खेलमा फर्काए।

६४औँ मिनेटमा क्रिसेन्सियो समरभिलले उत्कृष्ट व्यक्तिगत प्रदर्शनमार्फत गोल गर्दै नेदरल्याण्ड्सलाई पुनः २–१ को अग्रता दिलाए। तर जापानले हार मानेन। खेलको ८८औँ मिनेटमा कोकी ओगावाको प्रयासलाई डाइची कामाडाले हेडमार्फत जाली चुमाउँदै खेल २–२ को बराबरीमा पुर्‍याए।

खेलभरि नेदरल्याण्ड्सले बलमाथि बढी नियन्त्रण राखे पनि जापानी गोलरक्षक जियोन सुजुकीले महत्वपूर्ण बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखेका थिए। दोस्रो हाफमा जापानले आक्रामक खेल प्रदर्शन गर्दै प्रभावशाली पुनरागमन गरेको हो।

डलास स्टेडियममा ६९ हजारभन्दा बढी दर्शकको उपस्थितिमा भएको खेलपछि दुवै टोलीले समूह चरणको पहिलो खेलबाट समान एक–एक अंक बटुलेका छन्।

प्रतिक्रिया दिनुहोस्