अध्यादेश स्वीकृति प्रक्रिया अलपत्र, २६ दिन मात्र बाँकी



काठमाडौँ, असार १ — सरकारले जारी गरेका आठ वटा अध्यादेश संसद्मा पेस भए पनि स्वीकृतिको प्रक्रिया अघि बढ्न सकेको छैन। सार्वजनिक खरिद, राजनीतिक नियुक्ति खारेजी, संवैधानिक परिषद्, सहकारी, सम्पत्ति शुद्धीकरणलगायत विषयका अध्यादेश वैशाख २८ गते संसद्को पहिलो बैठकमा प्रस्तुत गरिएका थिए।

संविधानअनुसार अध्यादेश संसद्बाट स्वीकृत भई ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्छ, अन्यथा स्वतः निष्क्रिय हुन्छन्। समयसीमा सकिन २६ दिन मात्र बाँकी रहँदा पनि स्वीकृति वा प्रतिस्थापनको प्रक्रिया सुरु भएको छैन।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अध्यादेशसम्बन्धी कुनै प्रक्रिया अघि नबढेको जानकारी दिएका छन्। यसैबीच प्रतिनिधिसभामा असार १ देखि ४ गतेसम्म विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल र मन्त्रीहरूको जवाफको कार्यतालिका तय भएकाले अध्यादेश स्वीकृतिको विषय तत्काल कार्यसूचीमा परेको छैन।

प्रतिक्रिया दिनुहोस्