अपि हिमालमा क्रिकेटको चर्चा, पर्यटन प्रवर्द्धनको नयाँ अवसर
दार्चुला, असार १ – दार्चुलाको अपि हिमाल बेसक्याम्प क्षेत्रमा क्रिकेट खेलिएको भिडियो सामाजिक सञ्जालमा व्यापक चर्चामा आएपछि अपि हिमाल पुनः राष्ट्रिय आकर्षणको केन्द्र बनेको छ। हिमालको काखमा रहेको पिलकन्द मैदानमा युवाहरू क्रिकेट खेलिरहेको दृश्यले खेल र पर्यटनलाई एकसाथ जोड्ने सम्भावना उजागर गरेको हो।
स्थानीयका अनुसार अपि क्षेत्रमा क्रिकेटको इतिहास दुई दशकभन्दा पुरानो छ। भारतको पिथौरागढमा अध्ययन गरेका युवाहरूले २०५९ सालतिर गाउँमा क्रिकेट भित्र्याएका थिए। सुरुआती चरणमा कपडाको बल र काठको ब्याट प्रयोग गरेर खेल सुरु गरिएको थियो। त्यसयता क्रिकेट स्थानीय चाडपर्व र सामुदायिक गतिविधिसँग जोडिँदै आएको छ।
यार्सागुम्बा सङ्कलनका लागि अपि बेसक्याम्प पुग्ने युवाहरूले फुर्सदको समयमा क्रिकेट खेल्न थालेपछि हिमाली मैदानमा पनि क्रिकेटको संस्कृति विस्तार भएको हो। सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भिडियोले अपि हिमाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनाउने अवसर सिर्जना गरेको स्थानीयवासीको भनाइ छ।
अपि हिमाल गाउँपालिकाले खेल पर्यटनलाई प्राथमिकतामा राख्दै ‘हाई अल्टिच्युड एडभेन्चर पर्यटन क्रिकेट रङ्गशाला’ निर्माण गरिरहेको छ। समुद्री सतहबाट करिब २,४५० मिटर उचाइमा निर्माणाधीन उक्त रङ्गशालामा चालु आर्थिक वर्षमा सात करोड रुपैयाँ लगानी गरिएको छ।
गाउँपालिकाले स्वास्थ्य, कृषि, शिक्षा र खेल पर्यटनलाई समेटेर अपि क्षेत्रको समग्र विकास गर्ने योजना अघि बढाएको जनाएको छ।भविष्यमा अपि बेसक्याम्पमै राष्ट्रियस्तरको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गर्ने लक्ष्यसमेत राखिएको छ।
हाल अपि हिमाल क्षेत्रमा वार्षिक करिब पाँच हजार पर्यटक पुग्ने गरेका छन्। पदयात्रा मार्ग सुधार, होमस्टे विस्तार तथा पर्यटन पूर्वाधार विकासमार्फत पर्यटक संख्या दोब्बर बनाउने लक्ष्य स्थानीय तहले लिएको छ। प्राकृतिक सौन्दर्य, हिमाली जैविक विविधता र साहसिक पर्यटनको सम्भावना बोकेको अपि हिमाल क्षेत्रलाई खेल पर्यटनसँग जोडेर अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने प्रयास तीव्र बनेको छ।

