अतिरिक्त रकम मागे तुरुन्त उजुरी गर्न ऊर्जामन्त्रीको आग्रह
काठमाडौं, असार १ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा लिने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम मागिए तत्काल मन्त्रालयलाई जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेका छन्।
मन्त्री श्रेष्ठले प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर ११५१ मा फोन गरेर उजुरी गर्न अनुरोध गरेका हुन्। पदभार ग्रहण गरेपछि उनले जनगुनासोको सुनुवाइ र शीघ्र समस्या समाधानलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने अभियान अघि बढाएका छन्।
ऊर्जा मन्त्रालयका अनुसार विद्युत् सेवासम्बन्धी गुनासो समाधानका लागि सञ्चालनमा रहेको हटलाइन नम्बर ११५१ लाई थप सक्रिय बनाइएको छ। मन्त्री श्रेष्ठले कार्यभार सम्हालेयता हटलाइनमार्फत प्राप्त १३ हजार ८८ वटा गुनासो सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ।प्राप्त गुनासोमध्ये विद्युत् अवरोध (नो लाइट), ट्रान्सफर्मर बिग्रिएको, पोल तथा मिटर अभाव, भूमिगत विद्युत् जडानलगायतका विषय प्रमुख रहेका छन्। मन्त्रालयले यस्ता समस्याको समाधानलाई तीव्र बनाउँदै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने प्रयास जारी रहेको जनाएको छ।
त्यस्तै, सङ्घीय संसद् र प्रदेशसभाका सदस्यहरूले शून्य तथा विशेष समयमा उठाउने ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रसँग सम्बन्धित गुनासोलाई पनि तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। सुशासन र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले मन्त्रालयले सुशासन एकाइ गठन गरी सञ्चालनमा ल्याएको छ। उक्त एकाइले मन्त्रालय तथा मातहतका निकायका कर्मचारीहरूको कार्यसम्पादन, जिम्मेवारी निर्वाह, कानुनी समयसीमाको पालना र सेवा प्रवाहको प्रभावकारिताको नियमित समीक्षा गरिरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले डेलिभरीमा आधारित शासन प्रणालीलाई प्राथमिकता दिँदै सेवा प्रवाहमा सुधार, जनगुनासोको प्रभावकारी व्यवस्थापन तथा कर्मचारीको उत्तरदायित्व अभिवृद्धिमा जोड दिएको जनाएको छ।

