क्यान्सर औषधिको अभाव, मूल्य बढ्ने संकेत
काठमाडौँ, असार २ — भारतले क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन र सिसप्लाटिन औषधिको मूल्य बढाएपछि नेपालमा ती औषधिको आपूर्तिमा समस्या देखिएको छ। भारतमा यी औषधिको मूल्य नेपालभन्दा करिब ७१ प्रतिशतसम्म महँगो भएपछि पुरानै दरमा आयात गर्न कठिन भएको औषधि आयातकर्ताले बताएका छन्।
औषधि व्यवस्था विभागले नेपालमा स्वचालित मूल्य समायोजन प्रणाली नहुँदा आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको जनाएको छ।विभागले आगामी साता औषधि परामर्श परिषद्मा स्वचालित मूल्य प्रणाली लागू गर्ने प्रस्ताव लैजाने तयारी गरेको छ।
पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा पदार्थ अभाव र ढुवानी खर्च बढेकाले औषधि उत्पादन लागत पनि वृद्धि भएको बताइएको छ।यसैबीच स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग र आयातकर्ताबीच क्यान्सर औषधिको अभाव समाधानका लागि छलफल भएको छ।
नेपाल औषधि आयातकर्ता सङ्घले औषधि आपूर्ति सहज बनाउन सरकारसँग सहकार्य गर्दै बिरामीलाई गुणस्तरीय औषधिको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

