मत्स्यनारायण मन्दिरको एकमहिने पुरुषोत्तम मेला सम्पन्न, हजारौं भक्तजनको सहभागिता
भक्तपुर,असार २ । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित करिब ३०० वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा सञ्चालन भएको एकमहिने पुरुषोत्तम मेला सम्पन्न भएको छ।
मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीका अनुसार सत्संग, धार्मिक प्रवचन, भजन–कीर्तन, पुरुषोत्तम महात्म्य वाचन तथा विशेष पूजाआजासहित सञ्चालन भएको मेला सोमबार सम्पन्न भएको हो। मेलालाई सफल बनाउन स्थानीयवासी सक्रिय रूपमा जुटेका थिए भने एक महिनाभर दर्शनार्थीका लागि सहज पूजा व्यवस्थासमेत गरिएको थियो।
भक्तपुरका चारवटै नगरपालिका, काठमाडौँ, ललितपुर, साँखु, मूलपानी, काभ्रेपलाञ्चोकलगायत विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा भक्तजन मन्दिरमा दर्शनका लागि पुगेका थिए। मन्दिरका संरक्षकसमेत रहेका पुरीले यो मन्दिर करिब तीन सय वर्ष पुरानो रहेको बताउँदै दुई पीपलको रुखबीच रहेको पुरानो मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको जानकारी दिनुभयो। मन्दिरको शिलालेख पुरिएको हुनसक्ने भएकाले उत्खनन र थप अध्ययन आवश्यक रहेको उहाँको भनाइ छ।
मन्दिरमा एक सय वर्षभन्दा पुरानो पूजा थाली अझै सुरक्षित रहेको बताउँदै उहाँले स्थानीयवासीको सक्रियताले मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको उल्लेख गर्नुभयो। साना तीन खोलाको सङ्गमस्थलमा अवस्थित यस मन्दिरलाई ‘त्रिवेणी धाम’का नामले समेत चिनिन्छ। मन्दिर परिसरमा ६४ शिवलिङ्ग, सप्तऋषि मन्दिर, श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर तथा पवित्र कुण्ड रहेका छन्। मलमासका अवसरमा यहाँ ५० हजारभन्दा बढी दर्शनार्थी आउने गरेको विश्वास गरिएको छ।
स्थानीय जनविश्वासअनुसार मन्दिर परिसरको कुण्डमा स्नान गरे छालालगायत विभिन्न रोगबाट मुक्ति मिल्ने मान्यता छ। यसै वर्ष मन्दिर परिसरस्थित श्रीकृष्णवर्तेश्वर महादेव मन्दिरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको २५ हजार ७७७ किलोग्राम तौलको गीताचार्य श्रीकृष्ण भगवान्को विराट स्वरूप मूर्ति स्थापना भएपछि धार्मिक महत्व र आकर्षण थप बढेको चाँगुनारायण नगरपालिका वडा नं. ५ का वडाध्यक्ष जयन्द्र खड्का ले बताउनुभयो।
यसैबीच, भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा सञ्चालन भएको एकमहिने मत्स्यनारायण अर्थात् पुरुषोत्तम मलमास मेला पनि सोमबार सम्पन्न भएको छ। मेला व्यवस्थापन समितिका अनुसार एक महिनासम्म नारायण पूजा, पुरुषोत्तम महात्म्य वाचन तथा धार्मिक कार्यक्रम सञ्चालन गरिएको थियो। स्थानीय जनविश्वासअनुसार यहाँको कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोगव्याधि तथा पापकर्म नष्ट हुने मान्यता रहेकाले भक्तपुरका बासिन्दाले ठूलो सङ्ख्यामा पूजा, दर्शन र स्नान गरेका थिए।
धार्मिक आस्था, सांस्कृतिक परम्परा तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण मानिएको यी दुवै मेलाले भक्तपुर क्षेत्रमा धार्मिक गतिविधि र पर्यटक आकर्षण बढाउन योगदान पुर्याएको स्थानीयवासीको विश्वास छ।

