इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी
एजेन्सी,असार २ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इरान र न्युजिल्यान्डले २–२ को रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्।
लस एन्जलस स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा न्युजिल्यान्डले दुई पटक अग्रता लिए पनि इरानले दुवै अवसरमा पुनरागमन गर्दै एक अंक सुरक्षित गरेको हो।
न्युजिल्यान्डका इलाइजा जस्टले खेलको सातौँ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। क्रिस वुडको पासमा उनले उत्कृष्ट फिनिस गर्दै गोल गरेका हुन्। तर ३२औँ मिनेटमा रामिन रेजाइयानले गोल गर्दै इरानलाई १–१ को बराबरीमा फर्काए। त्यसअघि इरानका मेहदी तारेमीको शक्तिशाली प्रहार पोस्टमा लागेको थियो।
दोस्रो हाफको ५४औँ मिनेटमा जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई पुनः २–१ को अग्रता दिलाए। उक्त गोलमा पनि क्रिस वुडले नै पास मिलाएका थिए। तर ६४औँ मिनेटमा रेजाइयानको क्रसमा मोहम्मद मोहेब्बीले हेडमार्फत गोल गर्दै इरानलाई फेरि बराबरीमा ल्याए।
खेलको अन्तिम समयसम्म दुवै टोलीले जितका लागि प्रयास गरे पनि थप गोल हुन सकेन। इरानले १७ तथा न्युजिल्यान्डले १४ प्रहार गरे पनि नतिजा २–२ मै सीमित रह्यो। यस बराबरीसँगै समूह ‘जी’ का चारै टोलीको समान एक–एक अंक भएको छ। यसअघि भएको अर्को खेलमा बेल्जियम र इजिप्टले पनि १–१ को बराबरी खेलेका थिए।
न्युजिल्यान्डका इलाइजा जस्ट र क्रिस वुडको साझेदारी खेलभर प्रभावशाली देखिए पनि टोलीले विश्वकप इतिहासको पहिलो जितका लागि भने अझै प्रतीक्षा गर्नुपर्ने भएको छ।

