४२ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ



गुल्मी,असार १ । गुल्मी प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई घटनाको ४२ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विरेन्द्र वीर विश्वकर्माका अनुसार साविक हरेवा गाउँ पञ्चायत–१ निवासी तेजबहादुर थापा मगरलाई रुपन्देहीको देवदहबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार विसं २०४१ भदौ २९ गते साविक हरेवा गाउँ पञ्चायत–१ का जैसरा गलामी र लालमती काला घर्ती मगरको घरमा प्रवेश गरी सुन तथा नगद लुटपाट गरिएको थियो। लुटपाटका क्रममा धारिलो हतियार प्रहार गरी विभत्स रूपमा हत्या गरिएको घटनामा थापा मगरविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा सर्वोच्च अदालतले विसं २०५२ सालमा थापा मगरलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। अदालतको फैसला पछि फरार रहेका उनलाई विशेष सूचनाको आधारमा गुल्मीबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको देवदह नगरपालिका–३ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका थापा मगरलाई जिल्ला अदालत गुल्मीमा पेश गरिएको र अदालतको आदेशअनुसार जन्मकैद सजाय भुक्तानका लागि जिल्ला कारागार तम्घास पठाइएको डिएसपी विश्वकर्माले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्