एम्बाप्पेको कीर्तिमानसँगै फ्रान्सको विजयी सुरुआत
एजेन्सी,असार ३ । फिफा विश्वकपमा फ्रान्सले विजयी सुरुआत गरेको छ। मंगलबार न्यूयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न समूह ‘आई’ अन्तर्गतको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
फ्रान्सका कप्तान किलियन एम्बाप्पे खेलका नायक बने। उनले दुई गोल गर्दै फ्रान्सको राष्ट्रिय टोलीका सर्वकालीन सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान कायम गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एम्बाप्पेले ६६औँ मिनेटमा माइकल ओलिसेको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उक्त गोलसँगै उनले पूर्व स्ट्राइकर ओलिभियर जिरुडको ५७ गोलको कीर्तिमान बराबरी गरेका थिए।
फ्रान्सले ८२औँ मिनेटमा ब्राड्ली बार्कोलाको गोलमार्फत अग्रता दोब्बर बनायो। एड्रियन राबिओटको पासमा बार्कोलाले गोल गर्दै टोलीलाई २–० को सहज अवस्थामा पुर्याए।
इन्जुरी समयको पाँचौँ मिनेटमा इलिमान एनडियाएको पासमा इब्राहिम म्बायेले गोल गर्दै सेनेगललाई खेलमा फर्काउने प्रयास गरे। तर त्यसको एक मिनेटपछि एम्बाप्पेले लामो दूरीबाट शानदार गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।
९९ अन्तर्राष्ट्रिय खेलमा ५८ गोल पूरा गरेका एम्बाप्पेले जिरुडको नाममा रहेको ५७ गोलको कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका छन्।
यस जितसँगै साविक उपविजेता फ्रान्सले समूह ‘आई’ मा महत्वपूर्ण तीन अंक जोडेको छ। समूहमा फ्रान्ससँगै इराक र नर्वे पनि रहेका छन्।

