मनसुन नेपाल भित्रन अझै केही दिन लाग्ने
काठमाडौँ, असार ३ — यस वर्षको मनसुन नेपाल भित्रन ढिलाइ भएको छ। सामान्यतया जुन १३ तिर नेपाल प्रवेश गर्ने मनसुन जुन १७ पुग्दासमेत सीमापार भारतको सिक्किम र बिहार क्षेत्रमा सक्रिय रहेकाले नेपालमा प्रवेश गर्न सकेको छैन।
जल तथा मौसम विज्ञान विभागका अनुसार सन् १९७२ देखि २०२३ सम्म ११ वर्ष मनसुन ढिला भित्रिएको तथ्यांक छ। विभागले प्रशान्त महासागरमा विकसित हुँदै गएको एलनिनो प्रभावका कारण मनसुन आगमन ढिला हुन सक्ने जनाएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन प्रवेशका लागि आवश्यक वातावरण अझै पूर्ण रूपमा बनेको छैन। पश्चिमी वायुको प्रभाव कायम रहनु र माथिल्लो वायुमण्डलमा पूर्वीय वायु पर्याप्त सक्रिय नभएकाले मनसुन केही दिनपछि मात्र नेपाल प्रवेश गर्ने सम्भावना छ।
हाल जलवाष्पयुक्त हावाको बहाव बढ्दै गए पनि मनसुनी प्रणाली पूर्ण रूपमा सक्रिय नभएकाले देशभर निरन्तर वर्षा हुने अवस्था देखिएको छैन। विभागले मनसुन नेपालको नजिक आइपुगेको भए पनि तत्काल प्रवेश गर्ने सम्भावना नरहेको जनाएको छ।

