महाधिवेशनअघि रास्वपाको संगठन विस्तार तीव्र



काठमाडौँ, असार ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असार ७ देखि ९ गतेसम्म चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनअघि देशभर संगठन विस्तारलाई तीव्र बनाएको छ। पार्टीले हालसम्म ६,७४३ वडामध्ये ४,३६३ वडा, ७५३ पालिकामध्ये ६०९ पालिका र ७७ जिल्लामध्ये ६४ जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको जनाएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व चयन भइसकेको छ भने कर्णालीमा अधिवेशन जारी रहेको र मधेश प्रदेशको अधिवेशन स्थगित गरिएको छ। केही जिल्लामा निर्वाचन प्रक्रिया अझै बाँकी छ।

रास्वपाले ‘एक पद, एक व्यक्ति’ सिद्धान्तअनुसार आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धामार्फत नेतृत्व चयन गरेको जनाएको छ। चितवनमा हुने महाधिवेशनमा स्वदेश तथा विदेशबाट करिब २,५०० प्रतिनिधि सहभागी हुनेछन्। नयाँ केन्द्रीय नेतृत्व चयनका लागि विद्युतीय मतदान प्रणाली प्रयोग गरिने र विदेशस्थित प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था गरिएको छ।

पार्टीले महाधिवेशनलाई संगठन सुदृढीकरण, नीति निर्माण र नयाँ नेतृत्व चयनको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्