कांग्रेसका शीर्ष नेताले गरेनन् क्रियाशील सदस्यता अद्यावधिक
काठमाडौं,असार ३ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका धेरै वरिष्ठ नेताले क्रियाशील सदस्यता अद्यावधिक नगरेको पाइएको छ।
२०८२ पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनले पार्टी रूपान्तरणको कार्यादेश दिए पनि ७० वर्षमाथिका नेताहरूले केन्द्रीय कार्यसमितिमा आफ्नो प्रतिनिधित्व सुनिश्चित नभएसम्म सदस्यता नवीकरण नगर्ने अडान राखेको स्रोतले जनाएको छ।
स्वास्थ्य उपचारका लागि विदेशमा रहेका शेरबहादुर देउवा, उनकी पत्नी तथा पूर्वकेन्द्रीय सदस्य डा. आरजु राणा, पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र धनराज गुरुङले क्रियाशील सदस्यता अद्यावधिक गरेका छैनन्।
यस्तै पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशाङ्क कोइराला, पूर्वसहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिना, बद्रीप्रसाद पाण्डे, उमाकान्त चौधरी तथा डा. प्रकाशशरण महतले पनि सदस्यता नवीकरण गरेका छैनन्।
पूर्वकेन्द्रीय सदस्यहरू बलबहादुर केसी, अम्बिका बस्नेत र ज्ञानेन्द्रबहादुर कार्कीले समेत सदस्यता अद्यावधिक नगरेको बताइएको छ। त्यस्तै मीनबहादुर विश्वकर्मा, रमेश लेखक, नारायणप्रकाश साउद, श्यामकुमार घिमिरे, शङ्कर भण्डारी, मोहनबहादुर बस्नेत तथा सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलगायतका नेताले पनि क्रियाशील सदस्यता नवीकरण गरेका छैनन्।
राष्ट्रिय सभा सदस्य तथा पार्टीका पूर्वमुख्य सचिव कृष्णप्रसाद पौडेल, पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती, जितजङ्ग बस्नेत, कृष्णबहादुर रोकाया, ललितजङ्ग शाही र जगत तिमिल्सिनाले समेत सदस्यता अद्यावधिक नगरेको जानकारी सार्वजनिक भएको छ।

