नुवाकोटमा आगलागी, ७० लाख बराबरको क्षति
नुवाकोट, असार ३ — नुवाकोटको किस्पाङ गाउँपालिका–५ शान्तिबजारमा सोमबार राति भएको आगलागीमा करिब ७० लाख रुपैयाँ बराबरको धनसम्पत्ति नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक इकबाल हवारीका अनुसार राति करिब १० बजे विपना घलेको घरसँगै सञ्चालन भइरहेको पसलबाट आगलागी सुरु भएको थियो। आगोले पसलमा रहेका सरसामग्री, नगद तथा घरभित्रका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्।
घरधनी घले आफ्ना नाबालक बालबच्चासहित निदाइरहेका बेला आगलागी भएको प्रहरीले जनाएको छ। स्थानीयवासी, नेपाल प्रहरी र विदुर नगरपालिकाको दमकलको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइए पनि घर र पसल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
प्रहरीका अनुसार सटर बन्द गरिएको पसलभित्रबाट आगो सुरु भएकाले प्रारम्भिक अनुमान विद्युतीय गडबडीका कारण आगलागी भएको हुन सक्ने छ। घटनामा पसलमा रहेको करिब ६ लाख रुपैयाँ नगदसहित सम्पूर्ण धनसम्पत्ति जलेर नष्ट भएको बताइएको छ।
आगलागीबाट ढलान गरिएको घरको संरचनासमेत क्षति पुगेको छ। सिमेन्टको भाग जलेर रड देखिने अवस्था पुगेकाले घरको पुनः प्रबलिकरण गर्नुपर्ने देखिएको छ। एकल महिला घलेले व्यवसाय सञ्चालन गरेर परिवारको जीविकोपार्जन गर्दै आएकी थिइन्।
आगलागीपछि उनी घरबारविहीन बनेकी छन्। घर, पसल, लत्ताकपडा, भाँडावर्तन तथा दैनिक उपभोगका सम्पूर्ण सामग्री नष्ट भएपछि उनले राहत तथा सहयोगका लागि सम्बन्धित निकाय र दातासमक्ष अपिल गरेकी छन्।
यस सम्बन्धमा उनले वडा कार्यालय, किस्पाङ गाउँपालिका, जिल्ला प्रशासन कार्यालय नुवाकोट तथा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन्।
निलकण्ठ माध्यमिक विद्यालयका शिक्षक गणेश श्रेष्ठका अनुसार स्थानीय समाजसेवी र आफन्तहरूको सहयोगमा पीडित परिवारका लागि तत्काल राहत तथा आवश्यक सामग्री जुटाउने पहल सुरु गरिएको छ।

