मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुआत
एजेन्सी,असार ३ । विश्वकप उपाधि रक्षा अभियानको पहिलो खेलमै कप्तान लियोनेल मेस्सी चम्किँदा अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को प्रभावशाली जित निकालेको छ।
कान्सास सिटी स्टेडियममा बुधबार भएको समूह ‘जे’ को खेलमा ३८ वर्षीय मेस्सीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई सहज जित दिलाए। यो उनको विश्वकप करिअरको पहिलो ह्याट्रिक हो।
देशका लागि २००औँ खेल खेलिरहेका मेस्सीले विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्याउँदै जर्मनीका मिरोस्लाभ क्लोजेको सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका छन्। साथै, उनी विश्वकपका छ संस्करण खेल्ने पहिलो खेलाडीसमेत बनेका छन्।
अर्जेन्टिनाले १७औँ मिनेटमा अग्रता लिएको थियो। रोड्रिगो डे पाउलको पासमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुआती बढत दिलाए। पहिलो हाफमा दुवै टोलीका एक–एक गोल अफसाइडका कारण रद्द भए पनि अर्जेन्टिनाले १–० को अग्रता कायम राख्दै विश्राममा गएको थियो।
खेलको ६०औँ मिनेटमा अल्जेरियाका गोलरक्षक लुका जिदानको गल्तीको फाइदा उठाउँदै मेस्सीले दोस्रो गोल थपे। त्यसपछि ७६औँ मिनेटमा निकोलस गोन्जालेजबाट बल प्राप्त गरेका उनले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट प्रहार गर्दै ह्याट्रिक पूरा गरे।
सन् १९८२ र १९९० मा उपाधि रक्षा अभियानको पहिलो खेलमा पराजित भएको अर्जेन्टिनाले यसपटक भने विजयी सुरुआत गरेको छ। तीन पटकको विश्वविजेता अर्जेन्टिनाले अब समूह चरणमा अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ।

