युवतीमाथि कुटपिटको भिडियो सार्वजनिक गर्ने युवक लागुऔषधसहित पक्राउ
दाङ,असार ३ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका–२ भंकेका २४ वर्षीय रमेश ठाडा मगरले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेको भिडियो मंगलबार साँझ आफ्नै फेसबुकमार्फत सार्वजनिक गरेका थिए।
भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार राति उनको घरमा छापा मारेर पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट प्रेगाम्याक्स १ ट्याब्लेट, ट्रोहमो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र नाइट्राजोहम ५ ट्याब्लेट बरामद गरेको जनाएको छ।
घटनामा संलग्न रहेको आशंकामा तुलसीपुर–२ बालापुरका २१ वर्षीय जिबराज खत्रीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।

