३६ वर्षपछि विश्वकपमा अस्ट्रियाको ऐतिहासिक जित
एजेन्सी,असार ३ । फिफा विश्वकप अन्तर्गत समूह चरणको खेलमा अस्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गर्दै ३६ वर्षपछि विश्वकपमा ऐतिहासिक जित दर्ता गरेको छ।
सन फ्रान्सिस्कोमा भएको प्रतिस्पर्धात्मक खेलमा अस्ट्रियाले अन्तिम समयसम्म संघर्ष गर्दै महत्वपूर्ण तीन अंक बटुल्यो। खेलको २१औँ मिनेटमा रोमानो श्मिडले आकर्षक गोल गर्दै अस्ट्रियालाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको सुरुआतमै जोर्डनले खेलमा फर्कँदै ५०औँ मिनेटमा अली ओलवानको शानदार गोलमार्फत बराबरी गर्यो।
बराबरीपछि खेल थप रोमाञ्चक बनेको थियो। अस्ट्रियाका अनुभवी खेलाडी मार्को अर्नाउटोभिचले गोल गरे पनि भिडियो सहायक रेफ्री (भिएआर) को निर्णयपछि उक्त गोल अमान्य घोषित भयो। यद्यपि अस्ट्रियाले दबाब कायम राख्दै ७६औँ मिनेटमा पुनः अग्रता बनायो।
जोर्डनका याजन अल अरबले कर्नर क्लियर गर्ने क्रममा आत्मघाती गोल गरेपछि अस्ट्रिया २–१ ले अगाडि बढ्यो। इन्जुरी समयको १२औँ मिनेटमा जोर्डनका खेलाडीबाट ह्यान्डबल भएपछि अस्ट्रियाले पेनाल्टी अवसर पायो। उक्त अवसरलाई अर्नाउटोभिचले गोलमा परिणत गर्दै टोलीको ३–१ को जित सुनिश्चित गरे।
यो जितसँगै अस्ट्रियाले सन् १९९० पछि पहिलो पटक विश्वकपमा विजय हासिल गरेको हो। अब अस्ट्रियाले समूह चरणको अर्को खेलमा विश्व च्याम्पियन अर्जेन्टिनाको सामना गर्नेछ भने जोर्डन पुनरागमनको लक्ष्यसहित बाँकी खेलमा मैदान उत्रिनेछ।

