असार तेस्रो सातादेखि सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरिने



काठमाडौँ, असार ३ — भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल ले आगामी असारको तेस्रो सातादेखि सुकुम्बासीहरूलाई लालपुर्जा वितरण कार्य सुरु गरिने बताएकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले सुकुम्बासी समस्या समाधानका लागि सरकारले नयाँ कार्ययोजनासहित काम गरिरहेको जानकारी दिइन्।

उनले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्रका रूपमा सीमित हुँदा सुकुम्बासी समस्या समाधान हुन नसकेको टिप्पणी गर्दै विगत ३० वर्षमा १२ लाख निवेदन परे पनि हालसम्म करिब ९ हजार जनाले मात्र लालपुर्जा प्राप्त गरेको अवस्था लज्जास्पद रहेको बताइन्।

मन्त्री रावलका अनुसार सरकारले अब सुकुम्बासी व्यवस्थापनको संरचनामा परिवर्तन गरेको छ। जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति गठन गरी काम अगाडि बढाइने तथा केन्द्रमा विज्ञहरूको समितिमार्फत आवश्यक समन्वय र नीतिगत कार्य सञ्चालन गरिनेछ।

सरकारले नयाँ संरचना र कार्ययोजनामार्फत सुकुम्बासी समस्या समाधानलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्