दिपेन्द्रसहित ६ खेलाडी सुदूरपश्चिममै, सिजन–३ अघि टोली पुनर्गठन
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ का लागि मार्की खेलाडी दीपेन्द्र सिंह ऐरीसहित ६ खेलाडीलाई निरन्तरता दिने भएको छ।
फ्रेन्चाइजले सार्वजनिक गरेको सूचीअनुसार दीपेन्द्रसँगै अविनाश बोहरा, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, हिकमत महरा र आरिफ शेखलाई रिटेन गरिएको छ। यद्यपि दीपक बोहरा, मिलन बोहरा, टेक रावत, नरेन साउद र दीपेन्द्र थापालाई टोलीले रिलिज गरेको छ।
सुदूरपश्चिम पछिल्ला दुई संस्करणमा लगातार उपविजेता बनेको टोली हो। गत सिजन फाइनलमा लुम्बिनी लायन्ससँग पराजित हुँदै उपाधिबाट वञ्चित भएको थियो।
एनपिएल सिजन–३ का लागि जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स, पोखरा एभेन्जर्स, काठमाडौं किङ्स र विराटनगर किङ्सले पनि आफ्ना खेलाडी रिटेन तथा रिलिज सूची सार्वजनिक गरिसकेका छन्। हालसम्म जनकपुरका मार्की खेलाडी आशिफ शेख मात्र रिलिज भएका छन् भने अन्य टोलीहरूले आफ्ना मार्की खेलाडीलाई निरन्तरता दिएका छन्।

