७७ जिल्लामा दलित होमस्टे सञ्चालन गरिने, सामाजिक अन्तरघुलन बढाइने : पर्यटनमन्त्री पौडेल



काठमाडौं, असार ३ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गनेस)ले देशका सबै ७७ जिल्लामा दलित समुदायका लागि होमस्टे सञ्चालन गरिने बताएका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सामाजिक असमानता अन्त्य र समुदायबीचको अन्तरघुलन बढाउने उद्देश्यले उक्त कार्यक्रम समावेश गरिएको उनले जानकारी दिए।

प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले दलित होमस्टेले अन्य समुदाय र दलितबीच सामाजिक सद्भाव र सहकार्य बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले सरकारी निकायका कार्यक्रमसमेत अनिवार्य रूपमा दलित होमस्टेमै सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताए।

मन्त्री पौडेलका अनुसार आगामी आर्थिक वर्षमा पर्यटन तथा संस्कृति क्षेत्रको बजेट विगत वर्षको तुलनामा वृद्धि गरिएको छ। पर्यटन मन्त्रालयप्रति जनप्रतिनिधि र नागरिकको उच्च अपेक्षा रहेकाले सबै क्षेत्रलाई समेटेर बजेट ल्याउन चुनौतीपूर्ण भए पनि प्राथमिकताका आधारमा कार्यक्रम अघि बढाइएको उनले बताए।

उनले पदमार्ग, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा संरक्षणका लागि करिब ८२ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको जानकारी दिए। रणनीतिक पदयात्रा मार्ग विकासलाई ‘चतुर्भुजीय मोडेल’मार्फत अघि बढाउने योजना पनि बजेटमा समावेश गरिएको उनले बताए। मन्त्री पौडेलले लुम्बिनी क्षेत्र विकास कोष र पशुपति क्षेत्र विकास कोषले आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गर्ने भएकाले मन्त्रालयबाट छुट्टै बजेट विनियोजन नगरिएको स्पष्ट पारे। साथै बहुजातीय र बहुधार्मिक परम्परा तथा संस्कृतिको संरक्षणका लागि एकमुष्ट बजेट छुट्याइएको बताए।

सामुदायिक विद्यालयका विद्यार्थीलाई कर्णाली र सुदूरपश्चिम प्रदेशमा शैक्षिक भ्रमणका लागि अनुदान दिने व्यवस्था गरिएको उल्लेख गर्दै उनले यसले ती क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।नागरिक उड्डयन क्षेत्रबारे बोल्दै मन्त्री पौडेलले अधिकांश विमानस्थलको बजेट व्यवस्थापन र निर्माणको जिम्मेवारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नै सम्हाल्ने बताए। मन्त्रालयले भने केही विशेष विमानस्थल आयोजनाका लागि मात्र बजेट विनियोजन गरेको उनको भनाइ थियो।

उनले कोशी प्रदेशका पुरातात्विक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि एक करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै रैथाने पशुपक्षी संरक्षण तथा पर्यटनसँग जोडिएका कार्यक्रमलाई पनि आगामी बजेटमा प्राथमिकता दिइएको बताए।

प्रतिक्रिया दिनुहोस्