डिआर कङ्गोको ऐतिहासिक प्रदर्शन, पोर्चुगलसँग १–१ को बराबरी



एजेन्सी,असार ४ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को पहिलो खेलमा पोर्चुगल र डिआर कङ्गोले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्। बलियो टोली मानिएको पोर्चुगलविरुद्ध डिआर कङ्गोले ऐतिहासिक नतिजा निकाल्दै विश्वकप यात्राको सुखद सुरुआत गरेको हो।

खेलको छैटौं मिनेटमै पेड्रो नेटोको आकर्षक क्रसमा जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा आर्थर मासुआकुको क्रसमा योआने विस्साले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। उक्त गोल डिआर कङ्गोको विश्वकप इतिहासकै पहिलो गोल बनेको छ।

दोस्रो हाफमा पोर्चुगलले बलमाथि नियन्त्रण कायम राखे पनि थप गोल गर्न सकेन। ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोले पूरा खेल खेले पनि गोल गर्न असफल रहे। उनले दोस्रो हाफमा पाएका दुई उत्कृष्ट अवसरलाई पनि सदुपयोग गर्न सकेनन्।

रोनाल्डोले विश्वकपको छैटौं संस्करण खेल्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन्। प्रशिक्षक रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको पोर्चुगलले खेलमा प्रभुत्व जमाए पनि त्यसलाई जितमा बदल्न सकेन।

यता, डिआर कङ्गोले सशक्त रक्षात्मक प्रदर्शनसँगै प्रतिआक्रमणमा पनि खतरा सिर्जना गरिरह्यो। सेड्रिक बाकाम्बुले एकपटक पोस्टमा प्रहार गर्दै पोर्चुगलमाथि दबाब बढाएका थिए।

सन् १९७४ मा जायरे नामबाट पहिलो पटक विश्वकप खेलेको डिआर कङ्गो ५२ वर्षपछि विश्वकपमा फर्किएको हो। पहिलो सहभागितामा सबै खेल हारेर १४ गोल खाएको टोलीले यसपटक भने पहिलो खेलमै पोर्चुगलबाट अंक खोस्दै नयाँ इतिहास रचेको छ।

प्रतिक्रिया दिनुहोस्