विश्वकपमा इंग्ल्यान्डको दमदार सुरुआत, क्रोएसियामाथि ४–२ को रोमाञ्चक जित



एजेन्सी,असार ४ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ।

डलास स्टेडियममा ७० हजारभन्दा बढी दर्शकमाझ सम्पन्न खेलमा कप्तान ह्यारी केनको दोहोरो गोल प्रेरित इंग्ल्यान्डले महत्वपूर्ण तीन अंक हात पारेको हो। जुड बेलिङ्घम र मार्कस रासफोर्डले समान एक–एक गोल थपे।

खेलको १२औँ मिनेटमा पेनाल्टीमार्फत केनले इंग्ल्यान्डलाई अग्रता दिलाए। नोनी माडुकेमाथि भएको फाउलपछि प्राप्त पेनाल्टीको पहिलो प्रहार गोलरक्षक डोमिनिक लिभाकोभिचले रोके पनि नियम उल्लङ्घनका कारण पुनः पेनाल्टी दिइएको थियो। दोस्रो अवसरमा केनले कुनै गल्ती नगरी गोल गरे।

क्रोएसियाले ३६औँ मिनेटमा मार्टिन बातुरिनाको गोलमार्फत खेल १–१ को बराबरीमा ल्यायो। तर पहिलो हाफ सकिनुअघि डेक्लान राइसको कर्नरमा केनले हेडमार्फत गोल गर्दै इंग्ल्यान्डलाई पुनः अग्रता दिलाए।उक्त गोलसँगै केनले विश्वकपमा आफ्नो कुल गोल संख्या १० पुर्‍याउँदै ग्यारी लिनेकरको कीर्तिमान बराबरी गरेका छन्।

पहिलो हाफको इन्जुरी समयमा पेटार मुसाले गोल गर्दै क्रोएसियालाई फेरि खेलमा फर्काए र पहिलो हाफ २–२ को बराबरीमा सकियो। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै इलियट एन्डरसनको पासमा जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डलाई ३–२ को अग्रता दिलाए। त्यसपछि खेलमा पकड जमाएको इंग्ल्यान्डका लागि वैकल्पिक खेलाडी मार्कस रासफोर्डले ८५औँ मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे।

आक्रमणमा उत्कृष्ट प्रदर्शन गरेको इंग्ल्यान्डले रक्षापंक्तिमा केही कमजोरी देखाए पनि अन्ततः प्रभावशाली जित निकाल्न सफल भयो।यससँगै इंग्ल्यान्डले विश्वकप यात्रामा सुखद सुरुआत गर्दै समूह चरणमा बलियो सन्देश दिएको छ। अब इंग्ल्यान्डले आफ्नो दोस्रो खेलमा घानाको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्