रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न, असार ६ गते भोटो देखाइने
काठमाडौँ, असार ४ । वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथ को ऐतिहासिक रथयात्रा बुधबार ललितपुरमा सम्पन्न भएको छ।
गत वैशाख १८ गतेदेखि सुरु भएको रथयात्राको अन्तिम दिन लगनखेलस्थित थती टोलबाट रथ तानेर जावलाखेल पुर्याइएपछि यस वर्षको रथयात्रा औपचारिक रूपमा सम्पन्न भएको हो।
शताब्दीयौँदेखि निरन्तर चलिआएको यस जात्रामा विशेषगरी काठमाडौँ उपत्यकाको पश्चिम भेगका कीर्तिपुर, मच्छेगाउँ, नैकाप, सतुंगल, पाँगा लगायतका सात गाउँका बासिन्दा सहभागी भई रथ तान्ने परम्परा रहेको छ। स्थानीय समुदायको सक्रिय सहभागिताले जात्रालाई अझ विशेष बनाउने गरेको छ।
नेपालकै सबैभन्दा लामो र ऐतिहासिक रथयात्रामध्ये एक मानिने रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको तेस्रो दिन अर्थात् असार ६ गते ‘भोटो देखाउने जात्रा’ आयोजना गरिनेछ। उक्त समारोह सम्पन्न भएसँगै यस वर्षको सम्पूर्ण मच्छिन्द्रनाथ रथयात्रा विधिवत् रूपमा समापन हुनेछ।
रातो मच्छिन्द्रनाथको रथयात्रालाई नेवार समुदायको प्रमुख सांस्कृतिक पर्वका रूपमा लिइन्छ। वर्षा, कृषि उत्पादन र समृद्धिको कामना गर्दै मनाइने यो जात्राले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छ।

