‘बेवारिसे मन्त्रालयले पुनर्जन्म पायो’ — मन्त्री महावीर पुन



काठमाडौं, असार ४ — विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफूले नेतृत्व गरिरहेको मन्त्रालयले पुनः सक्रियता प्राप्त गर्दै “पुनर्जन्म” पाएको बताएका छन्।

बिहीबार विभिन्न मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पुनले विज्ञान तथा प्रविधि मन्त्रालय नयाँ नभई विगतदेखि नै अस्तित्वमा रहेको स्पष्ट पारे। उनले मन्त्रालयको स्थापना २०५३ सालमै भएको भए पनि विभिन्न समयमा अन्य मन्त्रालयमा गाभिने र छुट्टिने क्रम चलिरहेकाले यसको प्रभावकारी भूमिका कमजोर बनेको बताए।

“यो नयाँ मन्त्रालय गठन भएको होइन, २०५३ सालमा बनेको हो। कहिले कता जोड्ने, कहिले कता गर्दागर्दा २०७५ सालतिर शिक्षामा जोडियो,” मन्त्री पुनले भने, “यो बेवारिसे मन्त्रालयले अहिले पुनर्जन्म पाएको छ, यो सातौँ पुनर्जन्म हो।”

मन्त्री पुनले सीमित स्रोतसाधनका बीच पनि मन्त्रालयले अनुसन्धान, प्रविधि विकास तथा नवप्रवर्तनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कुल बजेटको करिब १ प्रतिशत मात्र विनियोजन भए पनि वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनका कार्यक्रमलाई अघि बढाइने बताए।

उनका अनुसार देशको आर्थिक तथा सामाजिक विकासमा विज्ञान, प्रविधि र नवप्रवर्तनको भूमिका महत्वपूर्ण भएकाले यस क्षेत्रलाई थप सशक्त बनाउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्