जङ्गलमा हराएका तीन बालक दुई दिनपछि सकुशल फेला



जुम्ला, असार ४ – जुम्लाको सिँजा गाउँपालिका–२ का दुई दिनदेखि हराइरहेका तीन जना बालक सकुशल अवस्थामा फेला परेका छन्। व्यापक खोजी अभियानपछि उनीहरू जुम्ला र कालीकोटको सिमानामा पर्ने उच्च स्थानको खेतीखर्क नजिकको जङ्गल क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष तीर्थ वडका अनुसार हराएका बालकहरू जङ्गलको छेउमा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय नराकोटका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बुढाको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ।

फेला परेका बालकहरूमा सिँजा गाउँपालिका–२ निवासी खड्क खत्रीका ७ वर्षीय छोरा परिवर्तन विष्ट, पदम विष्टका ८ वर्षीय छोरा प्रशान्त खत्री र विष्णु रोकायका १२ वर्षीय छोरा विनोद रोकाय रहेका छन्।

प्रहरीका अनुसार विद्यालय जाने भन्दै घरबाट निस्किएका उनीहरू बेलुकासम्म घर नफर्किएपछि अभिभावकले खोजी सुरु गरेका थिए। रातभर विद्यालय परिसर, सडक क्षेत्र, हिमा नदी किनार, नराकोट बजार तथा आसपासका गाउँहरूमा खोजी गर्दा पनि बालकहरू नभेटिएपछि इलाका प्रहरी कार्यालय नराकोटमा जानकारी गराइएको थियो।

सहायक हवलदार तिलकप्रसाद उपाध्यायका अनुसार बालकहरू सोमबार काफल खान जङ्गलतर्फ गएका बेला बाटो बिर्सिएर अन्यत्र पुगेका थिए। बाटो हराएपछि उनीहरूले रातभर जङ्गलभित्र रहेको एनसेल टावरमुनि बसेर रात कटाएका थिए।

नराकोटस्थित सालम बोर्डिङ स्कुलमा अध्ययनरत उनीहरू विद्यालयकै पोसाकमा फेला परेका थिए। प्रहरीका अनुसार भेडीगोठालाको सहयोगमा बालकहरूको अवस्थाबारे जानकारी प्राप्त भएपछि उनीहरूलाई खोजी टोलीले उद्धार गरेको हो।

रातभर जङ्गलमा बिताउँदा पनि तीनै जना बालक सकुशल भेटिएपछि स्थानीयवासी तथा अभिभावकहरूले राहतको अनुभूति गरेका छन्। घटनापछि गाउँमा खुसीको वातावरण छाएको छ।

प्रतिक्रिया दिनुहोस्