शिक्षा–खेलकुदमा २ खर्ब १८ अर्ब बजेट, गुणस्तर सुधारमा सरकारको जोड
काठमाडौँ, असार ४ — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ। प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफलमा जवाफ दिँदै उहाँले आगामी आर्थिक वर्षका लागि शिक्षा तथा खेलकुद क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।
मन्त्री पोखरेलका अनुसार विद्यालय शिक्षामा सबैभन्दा बढी बजेट छुट्याइएको छ भने स्मार्टबोर्ड व्यवस्थापन, विद्यालय पूर्वाधार निर्माण, शिक्षक तालिम, सीप विकास कार्यक्रम तथा दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइएको छ। अपाङ्गता भएका बालबालिकाका लागि आवासीय विद्यालय र छात्रवृत्ति कार्यक्रमलाई समेत प्राथमिकता दिइएको उहाँले बताउनुभयो।
उहाँले विद्यालय शिक्षाको गुणस्तर सुधार, प्राविधिक शिक्षाको विस्तार, अनुसन्धान प्रवर्द्धन तथा बजारमुखी शैक्षिक कार्यक्रम विकासमा सरकारले विशेष ध्यान दिएको उल्लेख गर्नुभयो। खेल क्षेत्रतर्फ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कार र सम्मानको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो।

