निर्वाचन नहुँदासम्म एन्फाको वर्तमान कार्यसमितिले नै काम गर्ने, फिफाको निर्देशन



काठमाडौं, असार ४ – अखिल नेपाल फुटबल संघ (एन्फा) को वर्तमान कार्यसमितिको चारवर्षे कार्यकाल समाप्त हुन लागेका बेला विश्व फुटबल महासंघ (फिफा) ले नयाँ निर्वाचन सम्पन्न नभएसम्म यही कार्यसमितिले आफ्नो जिम्मेवारी निरन्तर निर्वाह गर्न पाउने व्यवस्था गरेको छ।

एन्फा स्रोतका अनुसार फिफाले हालै पठाएको पत्रमार्फत अर्को निर्वाचन सम्पन्न नभएसम्म वर्तमान कार्यसमितिलाई काम जारी राख्न निर्देशन दिएको हो। एन्फाको वर्तमान कार्यसमिति २०७९ असार ६ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएको थियो, जसको कार्यकाल आगामी असार ६ गते समाप्त हुँदैछ।

एन्फा मातहतका जिल्ला फुटबल संघहरूको कार्यकाल भने गत वर्ष चैतमै सकिएको थियो। तहगत निर्वाचनको विषयलाई लिएर सरकार र एन्फाबीच विवाद उत्पन्न भएपछि गत वर्ष चैत १३ गतेका लागि तय गरिएको एन्फाको निर्वाचन स्थगित भएको थियो। त्यसयता निर्वाचन प्रक्रिया अन्योलमा परेको छ।

विवाद चर्किएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, पदाधिकारी, सदस्य तथा कर्मचारीसहित २४ जनालाई विदेश भ्रमणमा रोक लगाएको थियो। सोही निर्णयका कारण अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको थियो।

तहगत निर्वाचन प्रक्रिया अगाडि नबढाएको आरोप लगाउँदै राखेपले वर्तमान कार्यकाल समाप्त भएपछि एन्फामा तदर्थ समिति गठन गर्ने तयारी गरिरहेको चर्चा पनि चलिरहेको छ। तर, फिफाको पछिल्लो पत्रले एन्फाको नेतृत्व निरन्तरताबारे नयाँ परिस्थिति सिर्जना गरेको छ।

अब फिफाको निर्देशनप्रति नेपाल सरकार र राखेपले कस्तो धारणा अपनाउँछन् भन्ने विषय आगामी केही दिनभित्र स्पष्ट हुने अपेक्षा गरिएको छ। फुटबल प्रशासनमा देखिएको अन्योल अन्त्य गरी निर्वाचन प्रक्रिया कसरी अगाडि बढाइन्छ भन्ने चासो खेलकुद क्षेत्रको केन्द्रमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्