मान्जाम्बीको दुई गोलमा स्विट्जरल्यान्ड समूह ‘बी’ को शीर्षस्थानमा



एजेन्सी,असार ५ । जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शनको मद्दतमा स्विट्जरल्यान्डले १० खेलाडीमा सीमित बोस्निया एण्ड हेर्जगोभिनालाई ४–१ ले पराजित गर्दै समूह ‘बी’ को शीर्ष स्थान कब्जा गरेको छ।

फ्राइबर्गका मिडफिल्डर मान्जाम्बीले दोस्रो हाफमा मैदान प्रवेश गरेपछि दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा पाँच गोल हुँदा खेल रोमाञ्चक बनेको थियो।

स्विट्जरल्यान्डका लागि मान्जाम्बीले दुई गोल गरे भने रुबेन वर्गास र कप्तान ग्रानिट जाकाले एक–एक गोल थपे। बोस्नियाका एर्मिन माहमिकले सान्त्वना गोल फर्काए।

मान्जाम्बीले ७४औँ मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि ८०औँ मिनेटमा बोस्नियाका तारिक मुहारेमोभिकले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।

संख्यात्मक रूपमा कमजोर बनेको बोस्नियाविरुद्ध स्विट्जरल्यान्डले दबाब बढाउँदै ८४औँ मिनेटमा वर्गासमार्फत दोस्रो गोल गर्‍यो। मान्जाम्बीले ९०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३–० पुर्‍याए।

इन्जुरी समयमा माहमिकले बोस्नियाका लागि एक गोल फर्काए पनि त्यसले नतिजा बदल्न सकेन। खेलको अन्तिम क्षणमा प्राप्त पेनाल्टीलाई जाकाले गोलमा परिणत गर्दै स्विट्जरल्यान्डलाई ४–१ को सानदार जित दिलाए।

यो जितसँगै स्विट्जरल्यान्डले दुई खेलबाट चार अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा भने स्विट्जरल्यान्ड कतारसँग १–१ को बराबरीमा रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्