क्यानडाको ऐतिहासिक जित, कतारमाथि ६–० को फराकिलो विजय
एजेन्सी,असार ५ । सह–आयोजक क्यानडाले फिफा विश्वकप २०२६ मा ऐतिहासिक जित दर्ता गर्दै कतारलाई ६–० गोलअन्तरले पराजित गरेको छ। भ्यानकुभरस्थित बीसी प्लेसमा भएको समूह ‘बी’ को खेलमा जोनाथन डेभिडले ह्याट्रिक गर्दै क्यानडाको शानदार जितमा निर्णायक भूमिका खेले।
क्यानडाका लागि साइल लारिनले १६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि जोनाथन डेभिडले २९औँ, इन्जुरी समयको तेस्रो मिनेट (४५+३) र ९०+२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। नाथन सालिबाले ६४औँ मिनेटमा अर्को गोल थप्दा कतारका मोहम्मद मनाईबाट ७५औँ मिनेटमा आत्मघाती गोल भयो।
खेलमा कतार ३०औँ मिनेटदेखि १० खेलाडीमा सीमित भएको थियो। होमान अहमदले ताजोन बुकेननलाई फाउल गरेपछि रातो कार्ड पाएका थिए। दोस्रो हाफमा असिम मादिबोले इस्माइल कोनेमाथि गरेको चुनौतीका कारण अर्को रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा झरेको थियो।
यो जितसँगै क्यानडाले विश्वकप इतिहासमा पहिलो जित दर्ता गरेको छ। चार अंकसहित क्यानडा नकआउट चरण नजिक पुगेको छ भने कतारको यात्रा थप कठिन बनेको छ।

