आज केही प्रदेशमा वर्षा, तराईमा तातो लहरको सम्भावना



काठमाडौं, असार ५ — नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश तथा अन्य प्रदेशका हिमाली–पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी तराईका केही स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। ती क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने तथा कोशी प्रदेशको तराईका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्