मेक्सिको लगातार दोस्रो जितसहित नकआउट चरणमा प्रवेश
एजेन्सी,असार ५ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा सह-आयोजक मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। यो मेक्सिकोको लगातार दोस्रो जित हो।
ग्वादालाहारामा सम्पन्न खेलको ५०औँ मिनेटमा आएको एक मात्र गोल नै निर्णायक बन्यो। मिडफिल्डर लुइस रोमोले गोलकिपर किम सिउङ–ग्युको गल्तीको फाइदा उठाउँदै खाली पोस्टमा सहज गोल गरेका थिए। किम आफ्नै डिफेन्डरसँग ठोक्किएपछि बल नियन्त्रण गुमाएका थिए।
दक्षिण कोरियाले खेलमा फर्किने प्रयास गरे पनि ८७औँ मिनेटमा सोन ह्युङ–मिनको नजिकबाट गरिएको हेडरलाई मेक्सिकोका गोलकिपर राउल राङ्गेलले उत्कृष्ट बचाउ गरे। त्यसपछि आएको रिबाउन्ड प्रहार पनि असफल भयो।
पहिलो हाफमा सोन ह्युङ–मिनको प्रहारलाई लाइनबाट क्लियर गरिए पनि उक्त अवसर अफसाइड घोषित भएको थियो। ७५औँ मिनेटमा राउल हिमेनेजको प्रहार पनि कोरियाली गोलकिपरले रोके। यो जितसँगै मेक्सिको दुई खेलमा पूर्ण अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा पुगेको छ र नकआउट चरण सुनिश्चित गरेको छ। प्रशिक्षक हाभियर अगिरेको टोलीले अन्तिम समूह खेलमा चेक गणतन्त्रसँग खेल्नेछ।
दक्षिण कोरिया भने पहिलो खेलमा चेक गणतन्त्रलाई हराएको आधारमा अझै पनि नकआउट चरण पुग्ने सम्भावनामा रहेको छ।उनीहरूले अन्तिम समूह खेलमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछन्।

