जनज्ञान निकेतनको गौरव : कक्षा १२ मा शतप्रतिशत नतिजा, विद्यार्थीमा उत्साह
नुवाकोट, असार ५ — ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्छ भन्ने उदाहरण नुवाकोटको शिवपुरी गाउँपालिका–५ थानापतीस्थित श्री जनज्ञान निकेतन माध्यमिक विद्यालयले प्रस्तुत गरेको छ। विद्यालयले यस वर्षको कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्दै स्थानीय समुदायमा खुसीको माहोल सिर्जना गरेको हो ।
विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार शैक्षिक सत्र २०८२ को कक्षा १२ परीक्षामा सहभागी सबै २० जना विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यार्थीहरूले २.१५ देखि ३.६५ सम्म जिपिए प्राप्त गरेका छन्, जसले विद्यालयको शैक्षिक उपलब्धिलाई थप उचाइ दिएको छ। यस वर्ष बन्दना ठकुरीले ३.६५ जिपिए प्राप्त गर्दै विद्यालयको सर्वोत्कृष्ट विद्यार्थी बन्न सफल भएकी छन्। त्यस्तै आशिका नेपाली, अस्मिता भण्डारी र रिया मिजारले पनि उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयको गौरव बढाएका छन्।
सामुदायिक विद्यालयबाट आएको यो उपलब्धिलाई स्थानीय अभिभावक तथा शिक्षा सरोकारवालाले सकारात्मक रूपमा लिएका छन्। विद्यालय प्रशासनका अनुसार विद्यार्थीको मेहनत, शिक्षकको समर्पण, अभिभावकको साथ र विद्यालय परिवारको सामूहिक प्रयासले यस्तो नतिजा सम्भव भएको हो।
विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद लामिछानेले सफल विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ मेहनतका साथ उच्च शिक्षा र करियरतर्फ अघि बढ्न शुभकामना व्यक्त गरेका छन्। उनले विद्यालयले आगामी वर्षहरूमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिलाई प्राथमिकता दिँदै उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।ग्रामीण भेगको विद्यालयबाट प्राप्त यो सफलता केवल नतिजामा सीमित छैन, यसले सामुदायिक विद्यालयप्रति बढ्दो विश्वास र गुणस्तरीय शिक्षातर्फको सकारात्मक संकेतसमेत दिएको छ।

