कक्षा १२ मा एनजी आउने विद्यार्थीका लागि साउन २ र ३ गते मौका परीक्षा



काठमाडौँ, असार ५ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा नन ग्रेडेड (एनजी) प्राप्त गरेका विद्यार्थीका लागि पूरक (मौका) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।

बोर्डका अनुसार मौका परीक्षा साउन २ र ३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। साउन २ गते अनिवार्य अङ्ग्रेजीसहित एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थी र दुई विषय परीक्षा दिने विद्यार्थीका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। साउन ३ गते भने दुई विषय परीक्षा दिने परीक्षार्थीका लागि ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन गरिनेछ।

सैद्धान्तिकतर्फ अन्य सबै विषयमा न्यूनतम ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा दुई विषयमा एनजी आएका वा दुई विषयसम्म अनुपस्थित भएका विद्यार्थीले यो परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ।

पूरक परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले असार १९ गतेभित्र ८०० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। निर्धारित समयभित्र शुल्क नतिरेका विद्यार्थीले असार २६ गतेभित्र १ हजार ६०० रुपैयाँ विलम्ब शुल्कसहित तिरी सम्बन्धित विद्यालयमार्फत आवेदन दिन सक्नेछन्।

यसैबीच, बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। नियमिततर्फ परीक्षा दिएका ३ लाख ३२ हजार २४१ विद्यार्थীমध्ये २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन्, जुन कुल परीक्षार्थीको ६९.७५ प्रतिशत हो।

नतिजाप्रति चित्त नबुझ्ने विद्यार्थीले प्रतिविषय १ हजार रुपैयाँ दस्तुर तिरी पुनर्योगका लागि आवेदन दिन सक्नेछन्। आवेदन नतिजा प्रकाशन भएको सात दिनभित्र बोर्डको वेबसाइटमार्फत अनलाइन भुक्तानी गरी पेश गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्