नुवाकोटमा भीरले खोस्यो एक मेहनती किसानको जीवन



नुवाकोट, असार ५ — बिहीबार बिहान सामन्य थियो। घरपरिवारको दैनिकी सम्हाल्दै ३८ वर्षीय जितबहादुर तामाङ खेतीपाती र मेलापातको कामका लागि घरबाट निस्किए। नुवाकोटको तारकेश्वर गाउँपालिका–१ जन्तरे शिरान डाँडाका उनी साँझसम्म फर्किने अपेक्षा परिवारको थियो। तर त्यो दिनको यात्रा उनको जीवनकै अन्तिम यात्रा बन्यो।

साँझ अबेरसम्म पनि घर नफर्किएपछि परिवारमा चिन्ता बढ्न थाल्यो। आफन्त र स्थानीयवासीले रातभर खोजी गरे, तर उनको कुनै अत्तोपत्तो लागेन। अन्ततः शुक्रबार बिहान करिब ६ बजे जन्तरे शिरान डाँडानजिकको एक भीरमा उनी मृत अवस्थामा फेला परे।

प्रारम्भिक जानकारीअनुसार भीरबाट लडेर उनको मृत्यु भएको अनुमान गरिएको छ। बिहान ९ बजे घटनाबारे प्रहरी चौकी दानसिङमा जानकारी पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। घटनास्थल प्रहरी चौकीबाट करिब ९–१० किलोमिटर उत्तरतर्फ पर्ने जनाइएको छ।

गाउँघरमा मेलापात र खेतीपातीमा सधैँ सक्रिय रहने जितबहादुरको असामयिक निधनले जन्तरे शिरान क्षेत्र शोकमग्न बनेको छ। दैनिक जीवनका संघर्षसँग जुध्दै परिवारको भविष्य निर्माणमा जुटेका एक मेहनती किसानको जीवन यसरी अकस्मात् अन्त्य हुँदा स्थानीयवासी स्तब्ध बनेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। मृतकको शव आवश्यक प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइएको छ।

एक सामान्य दिनको सामान्य कामका लागि घरबाट निस्किएका जितबहादुर अब कहिल्यै फर्केर नआउने गरी विदा भएका छन्। उनको निधनले परिवारमात्र होइन, सिंगो गाउँलाई नै मर्माहत बनाएको छ।

प्रतिक्रिया दिनुहोस्