बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते
बैतडी, असार ५ — बैतडीमा शुक्रबार साँझ भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सु.प.प्र ०१००१ ख ३६४६ नम्बरको बस दसरथचन्द नगरपालिका–४ शाहिलेक बजार नजिक छेलामा साँझ करिब पौने ६ बजे दुर्घटनामा परेको हो। बस सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा दसरथचन्द नगरपालिका–६ निवासी ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।
दुर्घटनामा १० जना यात्रु सामान्य घाइते भएका छन्। घाइतेमध्ये लक्ष्मी ऐरी, हेमविक्रम जोशी, पूर्णदेवी जोशी, पूजा कार्की, लालिता लावड, जानकी लावड, विजय थापा, लक्ष्मी साउद, कर्णदेव भट्ट र कबिराज भट्ट रहेका छन्। उनीहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।
बसमा चालकसहित १२ जना सवार रहेको प्रहरीले जनाएको छ।दुर्घटनापछि बस चालक पाटन नगरपालिका–८ का ३७ वर्षीय केशव महरालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

