अपराजित बुढानिलकण्ठलाई राष्ट्रिय महिला बास्केटबलको उपाधि



काठमाडौं, असार ६— बुढानिलकण्ठ नगरपालिका अपराजित रहँदै १०औँ राष्ट्रिय महिला खुला बास्केटबल च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ। शुक्रबार कीर्तिपुरस्थित कभर्डहलमा सम्पन्न फाइनल खेलमा ग्रान्डी स्टारलाई ५०–३७ अंकले पराजित गर्दै बुढानिलकण्ठले च्याम्पियन बन्ने गौरव हासिल गरेको हो।

खेलको सुरुवातदेखि नै दबाब कायम गरेको बुढानिलकण्ठले पहिलो क्वाटर १३–६ तथा दोस्रो क्वाटर १४–७ ले आफ्नो पक्षमा पार्दै पहिलो हाफको समाप्तिसम्म १४ अंकको स्पष्ट अग्रता बनाएको थियो।

तेस्रो क्वाटरमा ग्रान्डी स्टारले खेलमा फर्कने प्रयास गर्दै १४ अंक जोड्यो। यद्यपि बुढानिलकण्ठले पनि १३ अंक बनाउँदै आफ्नो अग्रता कायम राख्न सफल भयो। चौथो क्वाटर सुरु हुँदा बुढानिलकण्ठ १३ अंकले अगाडि थियो। अन्तिम क्वाटर १०–१० को बराबरीमा सकिए पनि समग्र खेलमा बुढानिलकण्ठले सहज जित दर्ता गर्यो।

बुढानिलकण्ठको जितमा अनुषा मल्लले सर्वाधिक १० अंक योगदान दिइन्। उत्कृष्ट प्रदर्शन गरेकी उर्जा राना मगर फाइनल खेलकी ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी)’ पनि बुढानिलकण्ठकै अनुषा मल्ल घोषित भइन्। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

यस्तै, अन्नपूर्ण बास्केटबल संघकी निर्वीती शर्मा ‘इमर्जिङ प्लेयर’ घोषित हुँदै ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भइन् भने सुनसरी बास्केटबल संघ ‘इमर्जिङ टिम’ घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कारबाट सम्मानित भयो।

असार १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। आयोजक नेपाल बास्केटबल संघले प्रतियोगितालाई आगामी साबा महिला बास्केटबल च्याम्पियनसिपको छनोट प्रतियोगिताका रूपमा समेत लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्