फिफा विश्वकप : मोरोक्कोको साँघुरो जित, स्कटल्यान्ड पराजित



काठमाडौँ, असार ६ — फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा मोरोक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ। खेलको दोस्रो मिनेट नपुग्दै भएको गोल नै मोरोक्कोको जितको आधार बन्यो।

खेल सुरु भएको ७२ औँ सेकेन्डमै स्कटल्यान्डको कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै इस्माइल साइबारीले गोल गरेका थिए। उक्त गोलसँगै अफ्रिका कप अफ नेसन्स विजेता तथा विश्व वरीयताको पाँचौँ स्थानमा रहेको मोरोक्कोले प्रारम्भिक अग्रता बनाएको थियो।

पहिलो हाफको अन्त्यतिर स्कटल्यान्डले खेल बराबरीमा ल्याउने सुनौलो अवसर पाए पनि जोन म्याकगिन त्यसलाई गोलमा परिणत गर्न असफल रहे। त्यसपछि पहिलो हाफ १–० को नतिजामा सकिएको थियो।

दोस्रो हाफमा स्कटल्यान्डले लगातार दबाब सिर्जना गरे पनि मोरोक्कोको रक्षापङ्क्ति मजबुत देखियो। स्कटल्यान्डले गोल फर्काउन नसक्दा मोरोक्कोले १–० को महत्वपूर्ण जित दर्ता गर्‍यो। यो नतिजासँगै दुई खेलबाट चार अंक जोडेको मोरोक्को समूह ‘सी’ को शीर्षस्थानमा उक्लिएको छ। पहिलो खेलमा मोरोक्कोले ब्राजिलसँग १–१ गोलको बराबरी खेलेको थियो।

स्कटल्यान्डले भने पहिलो खेलमा हैटीलाई १–० ले हराएको थियो। उसको तीन अंक रहेको छ। समूह चरणको अन्तिम खेलमा मोरोक्कोले हैटीसँग तथा स्कटल्यान्डले ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्