कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो लहरको असर
काठमाडौं, असार ६ — हाल देशमा मनसुनी प्रणालीको प्रभाव मुख्य रूपमा कोशी प्रदेशका केही भू–भागमा रहेको छ भने अन्य क्षेत्रमा स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा तराईका केही भू–भागसहित देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा बदली रहने सम्भावना छ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोशी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव रहने तथा बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा पनि अत्यधिक गर्मी महसुस हुने सम्भावना रहेको जनाएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा कोशी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

