विश्वकप फुटबल : ब्राजिलको पहिलो जित, हैटी प्रतियोगिताबाट बाहिरियो



एजेन्सी,असार ६ । फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ मा ब्राजिलले हैटीलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। लगातार दोस्रो हार बेहोरेको हैटी भने एक खेल बाँकी रहँदै समूह चरणबाटै बाहिरिएको छ।

ब्राजिलको जितमा माथिअस कुन्हा नायक बने। उनले खेलको पहिलो हाफमै दुई गोल गर्दै टोलीलाई सहज अवस्थामा पुर्‍याए। २३औँ मिनेटमा कुन्हाको प्रहार गोलरक्षकले रोके पनि रिबाउन्ड भएको बल हैटीका खेलाडीमा लाग्दै गोलमा परिणत भएपछि ब्राजिलले अग्रता लिएको थियो।

त्यसको १३ मिनेटपछि, ३६औँ मिनेटमा भिनिसियस जुनियरको पासमा कुन्हाले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा लुकास पाकेटाको पासमा भिनिसियसले गोल गर्दै ब्राजिललाई ३–० को बलियो अग्रता दिलाए।

दोस्रो हाफमा पनि ब्राजिलले खेलमा नियन्त्रण कायम राखे पनि थप गोल गर्न सकेन। खेल ३–० को नतिजासहित समाप्त भयो। यद्यपि, पहिलो हाफमै राफिन्हा चोटका कारण मैदान छाड्नुपरेकाले ब्राजिललाई केही चिन्ता थपिएको छ।

यसअघि पहिलो खेलमा मोरोक्कोसँग १–१ को बराबरी खेलेको ब्राजिलले दुई खेलबाट ४ अंक जोडेको छ। समूह ‘सी’ मा ब्राजिल र मोरोक्को दुवैको समान ४ अंक रहेको छ। स्कटल्याण्डको ३ अंक छ भने लगातार दुई खेल हारेको हैटी अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको पहिलो टोली बनेको छ।

अब समूह चरणका अन्तिम खेलमा ब्राजिलले स्कटल्याण्डसँग तथा मोरोक्कोले हैटीसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्