पाराग्वेको जित, टर्की विश्वकपबाट बाहिरियो
एजेन्सी,असार ६ । फिफा विश्वकप २०२६ अन्तर्गत भएको समूह चरणको खेलमा पाराग्वेले टर्कीलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम ३२ मा पुग्ने सम्भावना जीवित राखेको छ। लगातार दोस्रो हार बेहोरेसँगै टर्की भने प्रतियोगिताबाट बाहिरिएको छ।
खेल सुरु भएको मात्र ६४ सेकेन्डमै माटियास गालार्साले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। उनकै सुरुआती गोल नै खेलको निर्णायक बन्यो।
पहिलो हाफको अतिरिक्त समयमा पाराग्वेका मिगेल अल्मिरोन रातो कार्ड पाएर मैदानबाट बाहिरिए। विवादका क्रममा मुख छोपेर बोलेको भन्दै नयाँ नियमअनुसार रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए। यससँगै विश्वकप इतिहासमा यस्तो कारणले रातो कार्ड पाउने उनी पहिलो खेलाडी बने।
१० खेलाडीमा सीमित भए पनि पाराग्वेले दोस्रो हाफभरि उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै अग्रता जोगायो। टर्कीले लगातार आक्रमण गर्दै ३२ पटक प्रहार गरे पनि गोल गर्न सकेन।
टर्कीले पहिलो खेलमा ३० तथा दोस्रो खेलमा ३२ गरी लगातार दुई खेलमा कुल ६२ प्रहार गरेको थियो। तर एक गोलसमेत गर्न नसकेको तथ्याङ्क सार्वजनिक भएको छ। सन् १९६६ यताकै विश्वकप इतिहासमा लगातार दुई खेलमा यति धेरै प्रहार गरेर पनि गोल गर्न नसक्ने टर्की पहिलो टोली बनेको छ।
यो जितसँगै पाराग्वेले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ। पाराग्वेले समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियालाई पराजित गर्न सके अन्तिम ३२ मा स्थान सुरक्षित गर्नेछ।

