उदयपुरमा बस दुर्घटना : एक जनाको मृत्यु, ३१ जना घाइते



उदयपुर, असार ६ – उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित मदन भण्डारी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।

प्रहरीका अनुसार महोत्तरीको गौशालाबाट चतरा धामतर्फ जाँदै गरेको वा २ ख ६४६८ नम्बरको दिप इग्निस एकेडेमी बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा बर्दिवासका ६५ वर्षीय विमलेस दत्तको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये गौशाला नगरपालिका–२ की ३८ वर्षीया रसिला कुमारी चौधरी, उनका १२ वर्षीय छोरा सन्देश कुमार चौधरी, ४५ वर्षीय जितनप्रसाद यादव, उनकी श्रीमती ३८ वर्षीया पिंकी यादव लगायत रहेका छन्।

त्यस्तै २४ वर्षीया किनितु यादव, १५ वर्षीया चाँदनी पासवान, ४५ वर्षीय भिकारी यादव, २२ वर्षीया अमृता यादव, २० वर्षीया अञ्जली साह, १८ वर्षीया रुपा महतो, २४ वर्षीय अनिलकुमार पासवान, ३६ वर्षीय दिनेश साह र उनका ७ वर्षीय छोरा आलोक साह पनि घाइते भएका छन्।

गम्भीर घाइते हुनेहरूमा २६ वर्षीया अनिसा महतो, १५ वर्षीया नादनीकुमारी यादव, २७ वर्षीय अजयकुमार मण्डल, २८ वर्षीय दीपेन्द्र महतो, २९ वर्षीय जीवन आले मगर, २६ वर्षीय कुश महतो, ३० वर्षीय रामशङ्कर यादव, उनकी २२ वर्षीया श्रीमती निर्मला यादव तथा ७ वर्षीय छोरा विकी यादव रहेका छन्।

उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार गम्भीर घाइतेहरूको उदयपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ। अन्य पाँच जना सामान्य घाइतेको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुई जनालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा रेफर गरिएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्