रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन भोलिदेखि भरतपुरमा



चितवन, असार ६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुर मा सुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

असार ७, ८ र ९ गतेसम्म चल्ने महाधिवेशनमा प्रारम्भिक तथ्याङ्कअनुसार तीन हजार ८१० प्रतिनिधि सहभागी हुनेछन्। सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार २५ देशका प्रवास सम्पर्क विभागबाट करिब २०० प्रतिनिधि थपिने अपेक्षा गरिएको छ।

पार्टी विधानअनुसार सभापतिले मनोनयन गर्ने २०० प्रतिनिधिको व्यवस्था रहेको छ। साथै, समूहगत रूपमा पार्टी प्रवेश गर्ने सदस्यबाट पनि केही प्रतिनिधि थप हुन सक्ने जनाइएको छ। दाबी–विरोध, दोहोरो नाम तथा छुटपुट त्रुटि सच्याएर आज अन्तिम नामावली प्रकाशन गरिने तयारी गरिएको छ।

प्रारम्भिक विवरणअनुसार कोशी प्रदेशबाट ५२०, मधेसबाट ६३०, बागमतीबाट ७९०, गण्डकीबाट ४७०, लुम्बिनीबाट ४९०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।

महाधिवेशन प्रतिनिधिमा पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहका पदाधिकारी तथा सदस्यहरू, विभिन्न विभाग, आयोग र सल्लाहकार परिषद्का पदाधिकारीहरू समावेश रहने व्यवस्था गरिएको छ। यसका साथै, प्रतिनिधिसभा निर्वाचनका उपविजेता, समानुपातिक सूचीमा रहेका तथा पार्टीमा सक्रिय नेताहरूलाई पनि प्रतिनिधिको रूपमा सहभागी गराइनेछ।

महाधिवेशनको उद्घाटन सत्र आइतबार भरतपुरस्थित गेष्टहाउस चौरमा हुनेछ भने बन्द सत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। पार्टी सभापति रवि लामिछाने सहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन्। पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह आइतबार चितवन पुग्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्