मस्र्याङ्दी जलविद्युत् आयोजनाको निरीक्षण गर्दै ऊर्जामन्त्री श्रेष्ठ
दमौली,असार ६ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत्गृहको निरीक्षण गर्नुभएको छ।
निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले विद्युत्गृहका विभिन्न संरचना, उपकरण तथा सञ्चालन अवस्थाबारे आयोजनाका प्राविधिक कर्मचारीसँग जानकारी लिनुभएको थियो। उहाँले आयोजनाको कार्यसम्पादन, उत्पादन अवस्था तथा सञ्चालन व्यवस्थाबारे चासो व्यक्त गर्दै आवश्यक सुझावसमेत दिनुभएको बताइएको छ।
सो अवसरमा मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षामा जलविद्युत् आयोजनाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै विद्युत् उत्पादन क्षमता वृद्धि, पूर्वाधारको सुदृढीकरण तथा प्रभावकारी सञ्चालनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
मन्त्री श्रेष्ठलाई आयोजनाका निमित्त प्रमुख शेरमहम्मद हुसैन ले विद्युत्गृहको वर्तमान अवस्था, उत्पादन क्षमता तथा सञ्चालन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो।
मस्र्याङ्दी जलविद्युत् आयोजनाबाट हाल ६९ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ। आयोजना राष्ट्रिय विद्युत् प्रणालीका लागि महत्वपूर्ण स्रोतका रूपमा रहेको छ।

