मंसिरमा राप्रपाको शक्ति परीक्षण, काठमाडौँमा तीनदिने महाधिवेशन हुने
काठमाडौँ, असार ६ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा केन्द्रीय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको शुक्रबार र शनिबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गर्दै तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो।
पार्टी अध्यक्ष ले महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन आफ्नै संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको जानकारी दिए। समितिमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार, विभागीय प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, सांसद र भ्रातृ संगठनका अध्यक्षहरू सहभागी रहनेछन्।
बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी नियमावली तथा पार्टी निर्वाचन निर्देशिकालाई परिमार्जनसहित पारित गरेको छ। निर्णयअनुसार भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्नेछ भने सोही अवधिसम्म सक्रिय सदस्यता वितरण अभियान पनि सञ्चालन गरिनेछ।
राप्रपाले भदौ मसान्तसम्म सक्रिय सदस्यता प्राप्त गरेका सदस्यहरूलाई मात्र महाधिवेशन प्रतिनिधिको मतदाता र उम्मेदवार बन्न पाउने व्यवस्था गरेको छ। साथै, जिल्ला अधिवेशन सम्पन्न गरेका जिल्लाहरू मात्र केन्द्रीय महाधिवेशनमा सहभागी हुन पाउनेछन्।
असोज १५ देखि २४ गतेभित्र सातवटै प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरिने र कार्तिक ११ देखि ३० गतेसम्म प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूले केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय पनि बैठकले गरेको छ।
छनोट भएका प्रतिनिधिहरूको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र केन्द्रीय सचिवालयमा पठाउनुपर्नेछ। साथै, प्रतिनिधि चयन प्रक्रियामा युवाको सहभागिता सुनिश्चित गरिने व्यवस्था पनि गरिएको छ।
राप्रपाको आगामी महाधिवेशनलाई पार्टीको भावी नेतृत्व चयन र संगठन सुदृढीकरणका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

