लोकतन्त्रबाट कहिल्यै विमुख हुँदैनौँ : रवि लामिछाने
चितवन,असार ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने स्पष्ट गर्नुभएको छ।
पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनअघि आज आयोजित बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनका लागि योगदान गर्ने सबै शक्तिप्रति सम्मान व्यक्त गर्दै रास्वपा लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहेको बताउनुभयो।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान र मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गर्नेहरूको जगमा हामी उभिएका छौँ। हामीलाई यसमा गर्व छ र लोकतन्त्रबाट कहिल्यै विमुख हुने छैनौँ,” सभापति लामिछानेले भन्नुभयो।
उहाँले आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन नसके राजनीतिक दलहरू गम्भीर संकटमा पर्न सक्ने चेतावनी पनि दिनुभयो। राजनीतिक दलभित्र हुने दुर्घटनाको मूल्य समाज र राष्ट्रले चुकाउनुपर्ने भएकाले सबैले जिम्मेवार ढंगले अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई जुनसुकै भूमिकामा रहे पनि जिम्मेवार नागरिकका रूपमा प्रस्तुत हुन निर्देशन दिँदै अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहन आग्रह गर्नुभयो।
पार्टीलाई अझ व्यवस्थित, सशक्त र गतिशील बनाउन महाधिवेशन सफल हुने विश्वास व्यक्त गर्दै उहाँले रास्वपाले लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने प्रतिबद्धता दोहोर्याउनुभयो।

