जापानले विदेशी पर्यटकको भिसा शुल्क पाँच गुणा बढायो



काठमाडौँ, असार ६ — जापान सरकारले आगामी जुलाईदेखि विदेशी नागरिकका लागि भिसा शुल्कमा उल्लेख्य वृद्धि गर्ने निर्णय गरेको छ।नयाँ व्यवस्थाअनुसार एकल–प्रवेश (सिंगल इन्ट्री) भिसाको शुल्क हालको ३ हजार येनबाट पाँच गुणा बढाएर १५ हजार येन (करिब ९० अमेरिकी डलर) पुर्‍याइने भएको छ।

विदेशमन्त्री मोटेगी तोशिमित्सुले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्। जापानमा मुद्रास्फीति बढ्नुका साथै येनको अवमूल्यन भइरहेका बेला सन् १९७८ पछि पहिलो पटक भिसा शुल्क वृद्धि गरिएको हो।

त्यस्तै, बहु–प्रवेश (मल्टिपल इन्ट्री) भिसाको शुल्क पनि ६ हजार येनबाट बढाएर ३० हजार येन निर्धारण गरिएको छ। भिसा शुल्कमा ठूलो वृद्धि भए पनि यसले जापानको पर्यटन क्षेत्रमा तत्काल नकारात्मक असर नपार्ने सरकारको विश्वास रहेको छ। “हामी यो कदमले आन्तरिक पर्यटनमा तत्काल प्रभाव पार्ने अपेक्षा गर्दैनौँ,” विदेशमन्त्री मोटेगीले बताएका छन्।

जापान सरकारले आर्थिक अवस्था र प्रशासनिक खर्चलाई ध्यानमा राख्दै भिसा शुल्क समायोजन गरेको जनाएको छ। नयाँ शुल्क व्यवस्था जुलाईदेखि लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्