आजदेखि रास्वपा महाधिवेशन: स्वास्थ्य र सञ्चार सेवाको विशेष तयारी, तीन एम्बुलेन्स तयारी अवस्थामा
चितवन, असार ७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुदैछ । महाधिवेशनलाई लक्षित गर्दै स्वास्थ्य तथा सञ्चार सेवाको विशेष तयारी गरिएको छ भने सहभागी हुने प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरूको ठूलो सङ्ख्यालाई मध्यनजर गर्दै तीन वटा सुविधासम्पन्न एम्बुलेन्ससहित चिकित्सकीय टोली तयारी अवस्थामा राखिने भएको हो।
महाधिवेशन मूल आयोजक समितिको स्वास्थ्य उपसमितिका संयोजक डा. मनोहर प्रधानका अनुसार उद्घाटन सत्रमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहित तीन वटा एम्बुलेन्स खटाइनेछ। उद्घाटन स्थलमा तीन स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिनेछ, जसमध्ये एक अतिथि क्षेत्र र दुई दर्शक क्षेत्रतर्फ रहनेछन्।
आकस्मिक उपचारका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ। थप उपचार आवश्यक परेमा बिरामीलाई जिल्लाका प्रमुख अस्पतालमा पठाइने जनाइएको छ। स्वास्थ्य उपचारका लागि प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा अस्पताल सञ्चालक र सुरक्षा निकायको सहभागितामा समन्वय समिति समेत गठन गरिएको छ।
चितवनमा अत्यधिक गर्मी भइरहेका बेला हिमाली तथा पहाडी जिल्लाबाट आउने सहभागीहरूमा तापघातको जोखिम हुन सक्ने भएकाले विशेष सतर्कता अपनाइएको डा. प्रधानले बताउनुभयो। खानपानमा सावधानी अपनाउनसमेत सहभागीलाई आग्रह गरिएको छ।
महाधिवेशन आज आइतबारदेखि सुरु हुँदैछ। उद्घाटन सत्र भरतपुरको गेष्टहाउस चौरमा र बन्द सत्र चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ। महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।
जनचापलाई ध्यानमा राख्दै दूरसञ्चार सेवाको क्षमता विस्तार
महाधिवेशनका क्रममा बढ्न सक्ने सेवाग्राहीको चापलाई ध्यानमा राख्दै नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरले दूरसञ्चार सेवाको क्षमता विस्तार गरेको छ।
कार्यालयका निमित्त प्रमुख चन्दनकुमार झाका अनुसार भरतपुरस्थित मुख्य टावर तथा आसपासका टावरमा अतिरिक्त उपकरण जडान गरी सेवा क्षमता बढाइएको छ। ठूलो भीडका कारण फोन सम्पर्कमा समस्या आउने, बीचमै सम्पर्क विच्छेद हुने तथा इन्टरनेट सेवा प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पूर्वतयारी गरिएको उहाँले बताउनुभयो।
उहाँका अनुसार मुख्य टावर र आसपासका टावरमा थप उपकरण जडान गरिएकाले महाधिवेशनका क्रममा नेटवर्कमा चाप बढे पनि सेवा सञ्चालन सहज रहने विश्वास गरिएको छ।
झाले ठूला सभा, सम्मेलन तथा भीडभाड हुने कार्यक्रमका बेला आवश्यकताअनुसार सेवा क्षमता विस्तार गर्ने कार्य नियमित रूपमा हुँदै आएको उल्लेख गर्दै सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु कार्यालयको प्रमुख प्राथमिकता रहेको बताउनुभयो।

