विकासवाद नै रास्वपाको मूल विचारधारा : प्रधानमन्त्री शाह



चितवन,असार ७ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह ले रास्वपाको मूल विचारधारा विकासवाद रहेको बताएका छन्। उनले पार्टीलाई परम्परागत वाम–दक्षिण (लेफ्ट–राइट) राजनीतिक बहसभन्दा माथि उठेर मूल्यांकन गर्न आग्रह गरे।

सम्बोधनका क्रममा शाहले रास्वपा विवाद र द्वन्द्व खोज्ने पार्टी नभएको स्पष्ट पार्दै राज्य सम्पत्तिको दोहन, भ्रष्टाचार तथा अनियमितताका विषयमा भने पार्टीले कडा अडान लिने बताए। “हाम्रो पार्टी विकासवादी हो। लेफ्ट राइट के हो भनेर चिन्ता लिइराख्नु पर्दैन,” उनले भने।

भ्रष्टाचारविरुद्ध पार्टीको नीति स्पष्ट रहेको उल्लेख गर्दै शाहले आवश्यक परे अनुसन्धान निकायलाई पूर्ण स्वतन्त्रता दिई छानबिन गर्नुपर्ने धारणा व्यक्त गरे। विगतमा राज्यका सम्पत्ति दोहन वा अनियमितता भएका विषयमा अनुसन्धान गर्न पार्टी पछि नहट्ने उनको भनाइ थियो।राष्ट्रियताको विषयमा आफू र पार्टीमाथि शंका नगर्न आग्रह गर्दै शाहले सीमा तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा दृढतापूर्वक काम गर्ने प्रतिबद्धता जनाए। “सीमाको विषयमा चिन्ता लिनुपर्दैन। प्रमाणका आधारमा सीमा फिर्ता ल्याउँछौँ। मेरो राष्ट्रियताप्रति शंका मान्नु पर्दैन,” उनले भने।

महाधिवेशन प्रतिनिधिहरूलाई आन्तरिक गुटबन्दी र समूह निर्माणबाट टाढा रहन सुझाव दिँदै शाहले संगठनभित्र शक्ति प्रदर्शनभन्दा जनताको विश्वास जित्नु नै सफल नेतृत्वको आधार हुने बताए। “राम्रा नेता बन्न समूहको होइन, जनताको माया जित्नुपर्छ,” उनले भने।

प्रधानमन्त्री शाहले रास्वपाले जनतासामु गरेका प्रतिबद्धता वर्तमान कार्यकालमै पूरा गर्ने दाबी गर्दै आगामी निर्वाचनमा नयाँ उपलब्धि र नयाँ एजेन्डासहित मतदातामाझ जाने तयारी रहेको बताए। “यसपटक जनतासँग गरेका वाचा यही कार्यकालमा पूरा गर्छौँ र अर्को चुनावमा नयाँ एजेन्डासहित जनतामाझ जान्छौँ,” उनले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्