रास्वपालाई सत्य, न्याय र सुशासनको पक्षमा दृढ रहन बाबुराम भट्टराईको सुझाव
चितवन, असार ७ — पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सत्य, न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्।
चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाले छोटो अवधिमै हासिल गरेको राजनीतिक सफलतालाई नेपाली इतिहासको नयाँ प्रकारको क्रान्तिको महत्वपूर्ण कडीका रूपमा व्याख्या गरे।
भट्टराईले परम्परागत आन्दोलन र संघर्षको बाटोभन्दा फरक शैली अपनाउँदै जनताको मन जितेर तथा आधुनिक प्रविधिमार्फत आफ्नो विचार सम्प्रेषण गर्दै रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको बताए। उनले चार वर्षको अवधिमा रास्वपाले प्राप्त गरेको उपलब्धिलाई नेपाली राजनीतिमा नयाँ परिवर्तनको संकेतका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।
उनले भने, “रास्वपाले चार वर्षभित्र जुन उपलब्धि हासिल गरेको छ, आन्दोलन र संघर्षबाट भन्दा पनि जनताको मन जितेर, आधुनिक प्रविधिमार्फत आफ्नो विचार सम्प्रेषण गरेर जसरी यो ऐतिहासिक सफलता हासिल गरेको छ, त्यसलाई नेपाली इतिहासको नयाँ क्रान्तिको एउटा कडीका रूपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ।”
भट्टराईले आफ्नो पुस्ताका केही नेताहरूले रास्वपाको उदयलाई लिएर विभिन्न भ्रमपूर्ण विश्लेषण गरिरहेको टिप्पणी गर्दै त्यसप्रति असहमति जनाए। उनले रास्वपाको उदयलाई बाह्य शक्तिसँग जोडेर हेर्ने प्रवृत्ति गलत रहेको उल्लेख गरे।
“मेरो पुस्ताका साथीहरूलाई ठूलो भ्रम छ। उहाँहरू यो दक्षिणले गरायो, उत्तरले गरायो, पश्चिमले गरायो भन्ने कथा बुनिरहनुभएको छ। तर मेरो स्पष्ट धारणा के छ भने सत्य र न्यायको पक्षमा तपाईंहरू दृढतापूर्वक उभिनुपर्छ,” उनले भने।
लामो समयदेखि वैकल्पिक राजनीतिक शक्तिको पक्षमा वकालत गर्दै आएको स्मरण गराउँदै भट्टराईले रास्वपालाई त्यही अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा आफूले ग्रहण गरेको बताए।उनले सुशासन र समृद्धिको प्रतिफल देशका सबै नागरिकसम्म पुग्ने गरी काम गर्न रास्वपालाई आग्रह गर्दै नेपालको राजनीतिक रूपान्तरणमा सकारात्मक भूमिका खेल्न शुभकामना व्यक्त गरे।

